काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा कार्यक्रमको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। सम्बन्धित निकाय तथा सरोकारवालाहरूसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमालाई सरकारको प्राथमिकतामा राखेर समस्या समाधान गरिने बताएकी हुन्।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विशेषगरी विपन्न, गरिब, अपांग, अशक्त तथा कमजोर वर्गलाई लक्षित गरी सञ्चालन गरिएको उल्लेख गर्दै यसलाई संवेदनशील विषयका रूपमा लिनुपर्ने बताइन्। “यो कार्यक्रम विपन्न वर्गका लागि अत्यन्तै महत्वपूर्ण भएकाले यसलाई विपद्को अवस्थामा जस्तै गम्भीर रूपमा लिएर समाधान गर्नुपर्छ,” उनले भनिन्, “यसका लागि अर्थमन्त्रीसँग तत्काल छलफल गरी आवश्यक निर्णय लिइनेछ।”
प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाको दीगो व्यवस्थापनका लागि कडा नियमन आवश्यक रहेकोमा पनि जोड दिइन्। कार्यक्रम सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी अनुगमन हुनुपर्ने भन्दै उनले कमजोरी देखिए सुधार गरेर अघि बढ्नुपर्ने बताइन्। “गरिब र असहाय नागरिकको हितमा सञ्चालन गरिएको कार्यक्रम भएकाले यसमा बजेट अभाव वा व्यवस्थापन कमजोरी हुन दिनु हुँदैन,” उनको भनाइ थियो। उनले आगामी दिनमा स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने सरकारको योजना रहेको जानकारी दिइन्।
आवश्यकता परे सरकारले ऋण खोजेर भए पनि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नागरिकको स्वास्थ्य सुरक्षामा कुनै सम्झौता नहुने स्पष्ट पारिन्। “जनताले नियमित रूपमा प्रिमियम तिर्ने तर सरकारले उनीहरूका लागि आवश्यक बजेटको व्यवस्था नगर्ने अवस्था कुनै पनि हालतमा स्वीकार्य हुँदैन,” प्रधानमन्त्री कार्कीले भनिन्। उनले सरकार र नागरिकबीचको विश्वास कायम राख्न स्वास्थ्य बीमा कार्यक्रमलाई मजबुत बनाउनु अपरिहार्य रहेको बताइन्।
छलफलमा सहभागी सरोकारवालाहरूले पछिल्लो समय बजेट अभावका कारण स्वास्थ्य बीमा सेवामा समस्या देखिएको, अस्पतालहरूलाई भुक्तानी ढिलाइ भएको तथा सेवाग्राहीले असहजता भोग्नुपरेको विषय उठाएका थिए। उनीहरूले स्रोत व्यवस्थापनमा दीर्घकालीन योजना आवश्यक रहेको सुझाव दिएका थिए। प्रधानमन्त्री कार्कीले ती सुझावहरूलाई गम्भीर रूपमा लिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र बीमा बोर्डबीच समन्वय गरी तत्काल समाधान खोज्ने निर्देशन दिइन्। साथै, आगामी बजेटमा स्वास्थ्य बीमाका लागि पर्याप्त रकम विनियोजन गरिने आश्वासन पनि दिइन्।
विशेषज्ञहरूका अनुसार स्वास्थ्य बीमा कार्यक्रम सफल हुन सकेमा नागरिकको उपचार खर्च घट्ने, सरकारी अस्पतालमा पहुँच बढ्ने र सामाजिक सुरक्षामा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ। त्यसैले यस कार्यक्रमको निरन्तरता र प्रभावकारिताका लागि स्रोत व्यवस्थापन मुख्य चुनौतीका रूपमा रहेको उनीहरूको भनाइ छ। प्रधानमन्त्री कार्कीको पछिल्लो प्रतिबद्धतापछि स्वास्थ्य बीमा क्षेत्रमा देखिएका समस्या समाधान हुने र सेवाग्राहीले सहज रूपमा सेवा पाउने विश्वास गरिएको छ।