काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा विद्यालयलाई डिजिटल स्मार्टबोर्ड हस्तान्तरण गरेको छ।
सोमबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईंले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग प्रदान गरिएको बताए।
विद्यालयका प्रधानाध्यापक राघवप्रसाद दवाडीले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विशेष आवश्यकता भएका विद्यार्थीहरूको सिकाइलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए।
वि.सं. २०२६ मा स्थापना भएको उक्त विद्यालयले शारीरिक अपाङ्गता तथा अशक्तता भएका व्यक्तिहरूलाई शिक्षा, तालिम र व्यावसायिक सीप विकासका अवसर प्रदान गर्दै आएको छ।