Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

दशैँमा ऋण निकालेर किनेको गाडी नै बन्यो परिवारको पीडा

दशैँमा ऋण निकालेर किनेको गाडी नै बन्यो परिवारको पीडा

सुर्खेत। दशैँको अवसरमा ठूलो सपना बोकेर ऋण निकालेर किनिएको गाडी बिहीवार कर्णाली नदीको गहिराइमा बेपत्ता छ । त्यससँगै बेपत्ता भएका छन् । पञ्चपुरी नगरपालिका-८ स्थित माझीगाउँका दुई सहोदर दाजु-भाइ-चालक २९ वर्षीय तुलाराम सुवेदी र सहचालक ३१ वर्षीय रामु सुवेदी । बिहीबार बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालिकोटका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडामा सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो ।

985e68d7-da48-4446-bb70-8b256066f80b.jpgदुर्घटनापछि नदीमा पानीको बहाव बढेको, जलसतह उच्च भएको र धमिलो पानीका कारण गाडी अझैसम्म फेला पर्न सकेको छैन । घटनाले सबैभन्दा बढी शोकमा डुबाएको छ पञ्चपुरी नगरपालिका–८ माझीगाउँस्थित सुवेदी परिवारलाई । चालक तुलाराम र सहचालक रामु सहोदर दाजु–भाइ भएको खुलेको छ । उनीहरू दुवैको अवस्था अझै अज्ञात छ । परिवारका सदस्य राजकुमार सुवेदीका अनुसार तुलारामले गएको दशैँमा ऋण निकालेर उक्त गाडी किनेका थिए । गाडी किन्नुअघि उनी अरूकै गाडी चलाएर जीविकोपार्जन गर्दै आएका थिए । आफ्नै गाडी किन्ने सपना पूरा भएपछि उनले भारतमा रोजगारी गरिरहेका आफ्ना दाइ रामुलाई पनि घर फर्काएर सहचालकको रूपमा सँगै काम गर्न बोलाएका थिए । तर परिवारको भविष्य बदल्ने आशा बोकेको त्यही गाडी अहिले कर्णाली नदीमा हराएको छ । राजकुमारका अनुसार दुवै दाजु–भाइका श्रीमती र स–साना छोराछोरी छन् ।

दुर्घटनाको खबर पाएपछि उनीहरू कलिला सन्तान च्यापेर घटनास्थल पुगेका छन् । आफ्ना श्रीमानको कुनै अत्तोपत्तो नहुँदा परिवारजनको पीडा झन् गहिरिएको छ । राजकुमारका अनुसार गाउँभरि अहिले दुई भाइ सकुशल भेटिऊन् भन्ने प्रार्थना सुनिन्छ । यता, दुर्घटनामा गाडीमा कति यात्रु सवार थिए भन्ने विवरण अझै खुलेको छैन । दैलेखका प्रहरी प्रमुख डीएसपी श्रवणकुमार विश्वकर्माका अनुसार गाडीको खोजी जारी रहे पनि नदीको प्रतिकूल अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोर टोली घटनास्थलमा परिचालन गरिएको छ ।

महेश्वरी बाहिनीका प्रहरी उपरीक्षक करणसिंह धामीले कर्णाली नदीको अत्यधिक धमिलो पानीका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको बताए । सुरक्षाकर्मी र स्थानीय बासिन्दा निरन्तर खोजीमा जुटिरहेका छन् । तर नदीको तीव्र बहाव र धमिलो पानीका कारण थप विवरण खुल्न सकेको छैन् ।