Shares
Shares
काठमाडौँ । हामि सामान्यतया ३० बर्ष कटिसकेपछी पढाई गर्ने उमेर सकियो भन्छौ । मनमा पढाईको तृष्णा भएपनि अरुले के भन्छन् / समाजले के सोच्ला भन्नेजस्ता कुराहरुले गर्दा हामि आफ्नो रहर ,इच्छ्याशक्ति मनमै मरिदिनछौ । तर केन्यामा एक ब्रिद्द्ले ८४ बर्षको उमेरमा कलम समाउन सिकेका छन् । यो उमेरमा यी व्रिद्दाको पढाईप्रतिको लगाव , मेहेनत र सफलता विस्वकै लागि उदाहरणीय बनेको छ । किमानीले ८४ वर्षको उमेरमा पेन्सिल समाउन सिकेका थिए । सन् २००४ केन्याको कपकान्डुओ प्राथमिक विद्यालयमा भर्ना भएपछि किमानी मारुगे प्राथमिक विद्यालयमा भर्ना हुने सबैभन्दा पाका व्यक्ति बने। यी ८४ वर्षका पूर्वसैनिकले माउ माउ स्वतन्त्रता आन्दोलनका क्रममा औपनिवेशिक शासनविरुद्ध लडेका थिए। बाल्यकालमा उनी विद्यालय जान पाएनन्। त्यसैले केन्याको सरकारले देशभर प्राथमिक विद्यालय शिक्षा निःशुल्क बनाउने निर्णय लिएसँगै उनले आफूले लेखपढ गर्ने अवसर पाउन लागेको निष्कर्ष निकाले। किमानीका पूर्वशिक्षिका जेन ओबिन्चुले उनका कारण विश्वभरका मानिसहरू प्रेरित भएको बताइन्।
अक्टोबर २००३ मा नैरोबीभन्दा ३२० किलोमिटर टाढा रहेको एक विद्यालयकी प्रधानाध्यपिका जेन ओबिन्चु अर्को शैक्षिक सत्रको तयारीमा व्यस्त रहँदा उनले कसलै ढोका ढकढक्याएको आवाज सुनिन्। ढोकाबाहिर किमानी मारुगे उभिएका थिए। उनले राज्यका प्राथमिक विद्यालयहरूबाट निःशुल्क शिक्षा दिने केन्याको नयाँ कानुनबाट आफूले फाइदा लिन चाहेको बताए। जेन सुरुमा अलमलमा परिन् र ८० वर्ष नाघेका ती विद्यार्थीलाई भर्ना लिने या नलिने स्पष्ट हुन सकिनन्। उनी भन्छिन्, “हामीले उनको कुरा मानेनौँ। हामीले उनलाई भन्यौँ, “सिक्नका लागि तिम्रो उमेर गइसक्यो।” त्यही भएर उनलाई पन्छाउन मैले उनलाई सन् २००४ को ज्यानुअरीमा फेरि आउन भने।” तर किमानीले आश मारेनन्। “म छक्क परेँ जब सन् २००४ मा विद्यालय खुल्दा उनी मेरो कार्यालयमा आए। उनले विद्यालयको पोसाक लगाएका थिए र झोला बोकेका थिए जसमा कापी र सिसाकलम पनि थियो।” जेनले एक सातापछि फेरि आउन उनलाई भनिन्। तर जब किमानी फेरि उपस्थित भए, उनले उनीसँग बसेरै कुरा गर्ने निधो गरिन्। जेनले उनलाई भर्ना गरिन्। शैक्षिक सत्र सुरु भएको पहिलो दिन किमानी समयमै नयाँ पोसाकसहित विद्यालयमा आए। सिक्ने उनको तत्परताले नयाँ उत्साह निम्त्यायो। लाठीको साहाराले हिँड्दै गएर उनी बालबालिकाहरूसँग खेल्ने गर्थे। केही वर्षपछि किमानीले आफ्नो दृढता व्याख्या गरे।
“मैले अध्ययन गर्न चाहनुको कारण केन्याका विद्यार्थीहरू र विश्वलाई शिक्षा धनी बन्नु वा अरू कुनै पनि कुराभन्दा बढी महत्त्वपूर्ण रहेको देखाउनु हो। वास्तविक धन शिक्षित बन्नु हो,” उनले सन् २००६ मा रोएटर्स समाचार संस्थासँग भनेका छन्।
किमानी मारुगे अन्य विद्यार्थीसँगै खेलकुदमा पनि सहभागी हुन्थे/ कतिपय अभिभावकहरू आफ्ना बच्चाहरूसहित एक जना वृद्ध कक्षाकोठामा बसिरहेको देख्दा खुसी थिएनन्। उनीहरूले विरोध नै गरे। जेनलाई त डर पनि लाग्यो। तर उनकै विद्यार्थीहरू कक्षाकोठाबाट निस्किए र आफ्ना अभिभावकहरूलाई पिट्न थाले। तर त्यसो गर्दा पनि केही अभिभावकहरू पछि हटेनन्। उनीहरूले शिक्षा विभागमा उजुरी दिए र जेनलाई सरुवा गराए। जेन त्यसविरूद्ध लडिन् र पुरानै जागिरमा पुनर्स्थापित भइन्। उनी किमानीसँग राम्रो सम्बन्ध कायम गर्न सफल भइन र उनलाई कसरी पढ्ने भनेर सिकाइन्। जेन भन्छिन्, “उनले अक्षरहरू उच्चारण गर्ने प्रयास गरिरहेको समय मेरो उनीबारेको सबैभन्दा मिठो सम्झना हो।”“त्यो रमाइलो थियो। गीत गाउन सिक्ने क्रममा उनले पनि गीत गाउन र अरू विद्यार्थीहरूले गर्ने काम पनि गर्न सक्थे।” किमानीले परिणाम देखाउन थाले। एक दिन किमानीले बाइबल उठाए र 'जन ३१६' शीर्षकको भाग पढे। “त्यो उनले वाचन गरेको पहिलो पङ्क्ति हो। त्यसले भगवानले हाम्रा पापहरूका लागि आफ्ना एक मात्र छोरालाई मर्न पठाएको चर्चा गर्छ।” “उनले पढिरहँदा हामी उत्साहित भयौँ र हाम्रा आँखा रसाए,” उनले भनिन्। जेनले त्यो बेला किमानीको अन्तर्दृष्टि वास्तविकतामा बदलिएको विश्वास गरिन्।
अझ रोमाञ्चक यात्रा सुरु हुन बाँकी नै थियो। सन् २००५ मा किमानी र जेनलाई संयुक्त राष्ट्रसङ्घमा सम्बोधन गर्नका लागि न्यूयोर्क लगिएको थियो। शिक्षालाई प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरूले उक्त भ्रमणको व्यवस्थापन गरेका थिए। रोएटर्सले खिचेको एउटा भिडिओमा उनलाई न्यूयोर्कमा एक अमेरिकी विद्यालयको पहेँलो रङ्गको बसमा चढेर टाइम्स स्क्वाएरमा घुमिरहेको देख्न सकिन्छ। उनी एम्पाइअर स्टेट बिल्डिङबाहिर हिँडिरहेको र घोडा चढिरहेका एक जना प्रहरी अधिकारीसँग हात मिलाइरहेको देख्न सकिन्छ।तर त्यस्तो स्वागतले उनी भित्रैबाट खुसी भएनन्। “उनले त्यहाँ पर्याप्त न्यानोपन महसुस गरेनन्। त्यही भएर उनले सोधिरहे, हामीलाई अफ्रिकामा जस्तै यहाँ किन कसैको पनि घरमा बोलाइदैँन।” “मेरो अपेक्षा छ कि सम्पूर्ण विश्वले सन्देश पाउनेछ र जसले विद्यालय जान पाएका छैनन् उनीहरूले विद्यालय जान पाउनेछन्।”
उता केन्यामा किमानी आफ्नो विद्यालयका प्रमुख छात्र बने। उनको कीर्तिमान गिनिज बुक अफ रिकर्ड्समा पनि दर्ता भयो। उनको निधन सन् २००९ मा भयो। त्यसको एक वर्षपछि उनको जीवनमा आधारित चलचित्र 'द फ्रस्ट ग्रेडर' बनाइयो।
त्यसको एक वर्षपछि ८५ वर्ष पुगिसकेकी उनी श्रीमती प्रिसिला सिटिनाई पनि अक्षर चिन्नका लागि प्राथमिक विद्यालयमा जान थालिन्। पेसाले सुँडेनी रहेकी उनी आफ्ना ६ पनातिहरू र आफूले प्रसूतिमा सघाएर जन्मिएका कैयौँ बच्चाहरूसँगै एउटै कक्षाकोठामा पढ्थिन्। प्रिसिला सिटिनाई आफ्नो मृत्यु हुनुअघि सम्म पनि विद्यालय जाने गर्थिन् । उमेरका हिसाबले आफ्ना श्रीमान्भन्दा एक वर्ष ढिलो विद्यालयमा जान थालेकी उनले आफ्नै कीर्तिमान रचिन्। सन् २०२२ मा निधन हुँदा उनको उमेर ९९ वर्ष थियो। उनी विश्वकै सर्वाधिक वृद्ध प्राथमिक विद्यालयकी विद्यार्थी भएको विश्वास गरिन्छ। “मलाई के गर्व लाग्छ भने धेरै वृद्ध मानिसहरू विद्यालय फर्कन थाले। मेरै कैयौँ कर्मचारीहरू आफ्नो शिक्षा अघि बढाउन कक्षा कोठामा फर्किए,” जेन भन्छिन्। “त्यसले गर्दा भगवान्ले मलाई उद्देश्यसहित पठाउनुभएको महसुस भयो। त्यो उद्देश्य भनेको कमानीलाई पढ्न र लेख्न सिकाउनु थियो।”
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209