Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दक्षिण एसियाकै पहिलो र्‍याफ्टीङ स्कुल बलेफीमा तयार, सञ्चालनको तयारीमा प्रदेश सरकार

दक्षिण एसियाकै पहिलो र्‍याफ्टीङ स्कुल बलेफीमा तयार, सञ्चालनको तयारीमा प्रदेश सरकार

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–५ स्थित भाँगेचौरमा दक्षिण एसियाकै पहिलो र्‍याफ्टीङ स्कुल निर्माण सम्पन्न भएको छ। 

सिन्धु पर्यटन व्यवसायी संघको पहलमा संघीय सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागको बजेटबाट यो स्कुल निर्माण गरिएको हो। स्कुल निर्माणमा संघीय सरकारले करिब १३ करोड रुपैयाँ लगानी गरेको छ।

र्‍याफ्टीङ स्कुल निर्माण सम्पन्न भएसँगै यसको सञ्चालनका विषयमा समन्वय तथा सहकार्य गर्ने उद्देश्यले बलेफी गाउँपालिकाले बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयका मन्त्री सुरेश श्रेष्ठ, प्रदेश सांसद अमृता नेपाल, मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी, पर्यटन कार्यालय काठमाण्डौका प्रमुख पवन पोखरेल, गाउँपालिकाका अध्यक्ष गंगा तामाङसहितको टोलीद्वारा अनुगमन गरिएको छ। 

अनुगमनका क्रममा स्थानीय सरोकारवालासँग छलफलसमेत गरिएको थियो। स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीको अनुरोधमा प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले र्‍याफ्टीङ स्कुल सञ्चालनको जिम्मा लिने तयारी गरेको छ। मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीका अनुसार प्रदेश सरकारबाट स्कुल व्यवस्थापन समिति गठन गरी सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले र्‍याफ्टीङ स्कुल फागुन महिनाको पहिलो हप्तादेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिए। उनका अनुसार स्कुलमा आवासीय प्रयोजनका लागि ११ वटा पक्की कोठा, चार वटा कक्षा कोठा रहेका छन् भने एक पटकमा करिब १ सय २० जना प्रशिक्षार्थीलाई तालिम दिन सकिने क्षमता रहेको छ।

बलेफी नजिकैको दुरीमा रहेको सुकुटे क्षेत्र र्‍याफ्टीङ पर्यटनका लागि अत्यन्तै सम्भावना बोकेको गन्तव्य पनि हो। भोटेकोशी नदीको किनारमा अवस्थित सुकुटे काठमाडौँबाट करिब ७० किलोमिटर दूरीमा रहेको हुँदा छोटो समयमै पुग्न सकिने साहसिक पर्यटन स्थलका रूपमा परिचित छ।

सहज सडक पहुँच, प्राकृतिक सौन्दर्य र तीव्र बहाव भएको नदीका कारण सुकुटे र्‍याफ्टीङ प्रेमीहरूका लागि आकर्षक गन्तव्य बनेको छ। सुकुटे क्षेत्र वरिपरि होटल, रिसोर्ट, क्याम्पिङ साइट र साहसिक पर्यटन सेवा प्रदायकहरूको संख्या बढ्दै गएको छ। यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै स्थानीय युवालाई रोजगारीको अवसर पनि सिर्जना गरेको छ।

प्राकृतिक, भौगोलिक र पूर्वाधारका हिसाबले सुकुटे र्‍याफ्टीङ पर्यटनको हब बन्ने क्षमता राख्दछ। योजनाबद्ध लगानी, सुरक्षा मापदण्डको पालना, तालिमप्राप्त जनशक्ति र सरकारी–निजी सहकार्यलाई थप सुदृढ गर्न सके सुकुटेले नेपालकै मात्र होइन, दक्षिण एसियाकै प्रमुख साहसिक पर्यटन गन्तव्यका रूपमा पहिचान बनाउन सक्ने स्पष्ट सम्भावना रहेको छ।

यसैलाई मध्यनजर गर्दै बलेफीमा र्‍याफ्टीङ स्कूल सञ्चालनको तयारी गरिएको सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष अध्यक्ष श्रेष्ठको भनाई छ ।  र्‍याफ्टीङ स्कुल सञ्चालनमा आएपछि साहसिक पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीय रोजगारी र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।