Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अब भन्सार नाकामा कारोबार मूल्यमै आधारित मूल्यांकन प्रणाली

अब भन्सार नाकामा कारोबार मूल्यमै आधारित मूल्यांकन प्रणाली

काठमाडौं । सरकारले शुक्रबार (पुस १८) देखि देशभरका सबै भन्सार नाकाहरूमा कारोबार मूल्यमा आधारित भन्सार मूल्यांकन प्रणाली पूर्ण रूपमा लागू गरेको छ । यो प्रणाली तीन महिनाअघि विराटनगर भन्सार नाकामा परीक्षणको रूपमा सुरु गरिएको थियो ।

यो प्रणालीलाई सफल परीक्षणपश्चात् मुलुकभर विस्तार गरिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । यसलाई उनी नेपालको भन्सार प्रशासनमा एउटा महत्त्वपूर्ण सुधार ठान्छन् ।

उक्त नयाँ व्यवस्थाको सुरुवातसँगै भन्सार मूल्यांकनका लागि प्रयोग हुँदै आएको सन्दर्भ पुस्तिका राख्ने परम्पराको अन्त्य भएको उनको दाबी छ । अर्थमन्त्री खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत यो जानकारी दिँदै यसलाई भन्सार प्रशासनमा आएको ठूलो परिवर्तनको रूपमा विश्लेषण गरेका छन् ।

अर्थमन्त्री खनाल भन्छन्, “यो प्रणालीले व्यवसायीहरूलाई नक्कली बिल–बिजक जारी गर्नुपर्ने बाध्यतालाई समाप्त गर्नेछ र उनीहरूलाई इमान्दार भएर कारोबार गर्ने वातावरण प्रदान गर्नेछ ।”

भन्सार सुधारको यो प्रक्रिया यतिमा मात्र सीमित छैन । सरकारले उत्पादनमा आधारीत अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन सोचका साथ नयाँ चरणको भन्सार सुधार रणनीति तर्जुमा गर्ने कार्य पनि प्रारम्भ गरेको उनको भनाइ छ । यो नयाँ व्यवस्थाले व्यवसायीहरूमा इमान्दारिता ल्याउने र समग्र भन्सार प्रणालीलाई थप पारदर्शी बनाउने विश्वास लिइएको छ ।