काठमाडौँ । वैश्विक बजारमा आएको सामान्य करेक्सनको प्रभाव नेपालमा पनि देखिएको छ। हालसम्मकै उच्च बिन्दु छोएपछि बिहीबार सुनको मूल्य एकै दिन तोलामा २ हजार ९ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुनको मूल्य २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔंस करिब ४ हजार ८ सय अमेरिकी डलरमा झरेपछि नेपालमा पनि मूल्य समायोजन गरिएको हो।
यसैगरी, चाँदीको मूल्य पनि ओरालो लागेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले घट्दै आज ५ हजार ८७० रुपैयाँमा झरेको छ। बुधबार चाँदी ५ हजार ९२० रुपैयाँमा कारोबार भई हालसम्मकै उच्च मूल्यमा पुगेको थियो।