काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला सात हजार ५०५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा २०५ रुपैयाँले बढी हो। बुधबार चाँदी प्रतितोला सात हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्य उकालो लागिरहेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज सुन प्रतिऔँस पाँच हजार ५६० अमेरिकी डलर र चाँदी प्रतिऔँस १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ।