काठमाडौँ । लगातार दोस्रो दिन नेपाली बजारमा सुनको मूल्यमा तीव्र उछाल देखिएको छ। आज मात्रै तोलामा ५ हजार ६ सय रुपैयाँ बढ्दै सुनको भाउ ३ लाख २६ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ ले जनाएको छ।
हिजो पनि सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ नै बढेर ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको थियो। यससँगै दुई दिनको अवधिमा सुनको मूल्य कुल ११ हजार २ सय रुपैयाँले बढेको छ।
गत साताको सोमबारदेखि बिहीबारसम्म सुनको मूल्य १० हजार ७ सय रुपैयाँले बढेको थियो। तर शुक्रबार भने प्रतितोला ५ सय रुपैयाँ घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा झरेको थियो।
यता, चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँ बढेर ६ हजार २० रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ २ सय ५४ रुपैयाँले बढेको थियो। माघ १८ गते भने चाँदी तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो गिरावट हो। माघ १५ गते चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, यो अहिलेसम्मकै उच्च मूल्य मानिन्छ।