Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

भुक्तानी रोक्ने पनि सरकार, सेवा नरोक भन्ने पनि सरकार : काठमाडौं मेडिकल कलेजकी अध्यक्ष शर्माको सरकारलाई प्रश्न

भुक्तानी रोक्ने पनि सरकार, सेवा नरोक भन्ने पनि सरकार : काठमाडौं मेडिकल कलेजकी अध्यक्ष शर्माको सरकारलाई प्रश्न

 

काठमाडौं । काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोईना शर्माले सरकारबाट बिमाको रकम समयमै भुक्तानी नहुँदा निजी अस्पतालहरू गम्भीर आर्थिक दबाबमा परेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेपाल सरकारअन्तर्गत सञ्चालित बीमा तथा विपन्न कार्यक्रमबाट नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले मात्रै झण्डै एक अर्व भुक्तानी लिन बाँकी रहेको बताएकी हुन् ।

उनका अनुसार ती अस्पतालहरुले बीमा कार्यक्रमअन्तर्गत दैनिक करिब ८ सय  जना ओपीडी तथा २ सय जनाभन्दा बढी आईपीडी बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । सरकारबाट भुक्तानी नआउँदा अस्पतालको सेवा प्रवाह नै प्रभावित हुने जोखिम बढेको छ ।

अस्पतालमा प्रयोग हुने औषधि, कन्जुमेबल तथा अन्य सामग्रीहरु बजारबाट खरिद गर्नुपर्ने भएकाले समयमै भुक्तानी नहुँदा आर्थिक व्यवस्थापन गर्न कठिनाइ पर्ने गरेको शर्माको भनाइ छ ।

“भुक्तानी रोक्ने पनि सरकार, सेवा नरोक भन्ने पनि सरकार, अनि दोष चाहिँ अस्पताललाई, यस्तो दोहोरो चरित्रले स्वास्थ्य सेवा मात्रै होइन, सिंगो स्वास्थ्य प्रणाली नै प्रभावित हुन्छ,” उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

सम्झौताअनुसार सेवा प्रदायक संस्थाले सेवा दिने र बीमा बोर्डले समयमै भुक्तानी गर्ने दायित्व स्पष्ट रूपमा उल्लेख रहेको स्मरण गराउँदै उनले भुक्तानी प्रक्रिया तत्काल व्यवस्थित गर्न सरकारसँग आग्रह गरेकी छन् ।श