काठमाडौँ । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा लागेको आगोमा जलेर दुई जनाको मृत्यु भएको छ ।
मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र घाइते छन् । उनीहरुको अवस्था सामान्य छ । उनीहरुको टाउको, हात र खुट्टामा आगोले पोलेको छ ।
आगो लागेर टिनको छानो भएको तीन तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आगलागीको कारण खुलेको छैन । यद्यपि बिजुलीको लाइन सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।