काठमाडौँ । शनिबार हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । प्राधिकरणले शनिबार एक सूचना जारी गरी मनाङ एयर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म निलम्बन गरिएको जनाएको छ । मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा दुर्घटना भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न शनिबार विहान ७:१३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना हुँदा पाइलट पिके सेढाइँ घाइते भएका थिए । यसअघि मनाङ एयरको नाइन एन एएमभी कलसाइनको हेलिकप्टर २६ असारमा पनि दुर्घटनामा परेको थियो । तीन महिनाको अवधिमा दुई पटक दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरको खराब उडान सुरक्षाका कारण एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको प्राधिकरण मुख्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
मनाङ एयरको हेलिकप्टर हिजो बिहान दुर्घटना भएको थियो । लुक्लाबाट ७:१३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ‘एन-एएनजे' कलसाइन भएको हेलिकप्टर शनिबार बिहान खुम्बुपासाङल्हामु गाउँपालिका-४ लोबुचेमा दुर्घटना भएको हो।
नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यात्रु लिन गएको मनाङको हेलिकप्टर ७:२५ बजे लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो। दुर्घटनामा परी पाइलट प्रकाश कुमार सेडाइ घाइते भएका हुन् । हेलिकप्टरमा उनी एक्लै थिए। दुई हेलिकप्टर रहेको मनाङको दुई वटै दुर्घटनामा परेपछि अब अर्काे हेलिकप्टर ल्याए पनि तत्काल सञ्चालन अनुमति नदिने प्राधिकरणले जनाएको छ। यसअघि उसको हेलिकप्टर असार २६ मा दुर्घटनामा परेको थियो।
दुर्घटनाको विस्तृत अध्ययनका लागि प्राधिकरणको प्राविधिक टोली आज आइतबार हेलिकोप्टर दुर्घटना भएको क्षेत्रमा जाने स्रोतले जनाएको छ ।
मनाङ एयरसँग रहेको दुईवटा हेलिकप्टर दुर्घटनामा परेपछि हाल ऊसँग हेलिकप्टर नै बाँकी छैन । सूचना अधिकारी भुलका अनुसार मनाङ एयरले अर्को हेलिकप्टर ल्याए पनि तत्काल उडान सञ्चालन गर्न पाउने छैन । ‘मनाङ एयरको समग्र चेकजाँच गरेपछि मात्र उडान सुरु गर्न दिने वा नदिने निर्णय हुन्छ’, उनले भने । प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२३’ अनुसार हालसम्म नेपालमा विभिन्न कम्पनीका ३९ वटा हेलिकोप्टर दुर्घटना भएका छन्। ती दुर्घटनामा ९० जनाको मृत्यु भएको छ पछिल्ला तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकोप्टर दुर्घटनाग्रस्त भएका छन्। दुवै दुर्घटना सोलुखुम्बुमा भएका हुन्। गत असार २६ गते मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित छजनाको मृत्यु भएको थियो।
यता हिजो मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाश सेढाईंलाई उपचारका लागि भारत लगिएको छ। दुर्घटनास्थलबाट उद्धार गरी काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएका उनलाई परिवार र एयरलाइन्सको सल्लाहमा ह्याम्सकै विशेषज्ञ टोलीले मेडिकल स्कर्टिङ गरेर मुम्बईस्थित नेसनल बर्न सेन्टर लगेको हो।
श्री एयरलाइन्सको चार्टर्ड उडानमा शनिबार राति भारत लगिएको अस्पतालले जनाएको छ। ह्याम्स अस्पतालका अनुसार पाइलट सेढाईंको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको चिकित्सकले बताएका छन्।
साथै, उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ।