Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

६ वर्षअघि महिलाको हत्या गरेर फरार भएका अभियुक्त पक्राउ

६ वर्षअघि महिलाको हत्या गरेर फरार भएका अभियुक्त पक्राउ

काठमाडौँ । करिव ६ वर्षअघि काठमाडौँको बल्खुमा विभत्व तरिकाले महिलाको हत्या गर्ने एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको बल्खुमा महिलाको हत्या गरी फरार रहेका अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मालाई हत्या भएको करिव ६ बर्षपछि प्रहरीले पक्राउ गरेको हो । विश्वकर्माले नारायणी तिमिल्सिना नाम गरेकी महिलाको हत्या गरेका थिए ।

महिलाको हत्याका मुख्य योजनाकार रहेका धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ४६ वर्षीय शिवराम अधिकारी भने यसअघि नै अन्य मुद्दामा जेलमा रहेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुवैलाई बिहीबार सार्वजनिक गरेको हो ।

विश्वकर्माले शिवरामसँग मिलेर २०७४ साल पुस ३० गते काठमाडौँ महानगरपालिका १४ बल्खुस्थित भुवनेश्वर मन्दिर पछाडि रहेको दह डाँडामा अप्सरा भनिने नारायणी तिमिल्सिनाको हत्या गरेका थिए ।

कार्यालयका अनुसार मृतक अप्सरा र शिवरामको पूर्वचिनजान रहेको थियो । शिवरामले ती महिलालाई भूपू आर्मीसँग बिहे गराइदिन्छु भन्दै १५–२० हजार रुपैयाँ र गरगहना लगाई राम्री भएर आउनुभन्दै फोन गरेर बोलाएका थिए ।

त्यसपछि माछापोखरी एरियामा तीन जनाको भेट भएपछि २–३ घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी उनीहरु बल्खु झरी ललितपुरको कुसुन्तीमा साँझको खाना खाई बल्खु क्षेत्रमै बसेका थिए ।

अप्सरासँग २ घण्टाजति सँगै बसेपछि शिवरामले जगत विकलाई मान्छे हेर भनी माथि डाँडामा राखेका थिए । त्यसपछि शिवरामले आएर ढुङ्गाले अप्सराको टाउकोमा हानेका थिए । जगतले पनि अप्सरालाई दुईपटक जति ढुङ्गाले हानेको प्रहरीको भनाई छ ।

हत्यापछि अप्सराले लगाएको सुनका मुन्द्री र खल्तीमा भएको नगद ६–७ सय रुपैयाँ निकाली उनीहरू गाडी चढेर गोङ्गबुको नयाँ बासपार्कको कोपिला गेस्ट हाउसमा बसेका थिए । त्यहाँबाट उनीहरू फरार रहेका थिए ।

प्रहरीले फरार रहेका जगत नेपाल आउँदै गरेको गोप्य सूचना पाएपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार राति ९ बजे पक्राउ गर्न सफल भएको थियो । शिवराम भने २०७९ साल कार्तिक २७ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय भई नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा नै रहेको खुलेको थियो ।

यसरी केही पैसा र गहनाको लालचमा परी निर्दोश महिलाको हत्या गर्ने अभियुक्त अहिले प्रहरीको घेराबन्दीमा परेका छन् । उनलाई थप अनुसन्धाका लागि पीडित पक्षको जाहेरी लिएर प्रहरी वृत्त कालिमाटीमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।