Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

कैद भुक्तान गरेर छुट्ने दिनमै मोरङ कारागारका कैदीको मृत्यु

कैद भुक्तान गरेर छुट्ने दिनमै मोरङ कारागारका कैदीको मृत्यु

विराटनगर । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका( १० का चण्डेश्वर सहनीको कैद भुक्तान अवधी आज सकिंदै थियो । आजै छुट्ने तयारीमा रहेका सहनीको बिहान करिब साढे ६ बजे मृत्यु भएको छ ।

पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार सहनी कैद भुक्तान गरी आज छुट्ने दिन थियो ।

छुट्ने दिन नै आफन्तको मृत्युपछि उनका आफन्त आक्रोशति छन् ।

सहनीको मृत्युपछि मात्रै कारागारले परिवारलाई जानकारी गराएको थियो । जिल्ला कारागार मोरङका निमित्त जेलर कृष्णहरि न्यौपानेले सम्पर्क नम्बर गलत हुँदा आफन्तलाई जानकारी दिन ढिलो भएको बताए ।

‘श्वासप्रश्वासमा समस्या देखिएपछि हामीले उहाँलाई अस्पताल लगेका थियौं, आफन्तलाई जानकारी गराउन खोज्दा उहाँले ९मतकले० दिएको नम्बर नै मिस्टेक रहेछ, फोन लागेन,’ उनले भने,’ नम्बर मिस्टेक हुँदा समयमा नै जानकारी गराउन सकिएन् ।’

लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो । अदालतले फैसलापछि फरार उनी २०७९ माघ १७ गते कारागार चलान भएका थिए ।

मंसिर २१ गते पनि मोरङ कारागारमा लेटाङ नगरपालिका(४ घर भएका ३७ वर्षीय केशरबहादुर भुजेलको शंकास्पद मृत्यु भएको थियो । मृत्युपछि आफन्तले शव बुझ्न मानेनन्, शवमा चोटपटक देखिएका कारण आफन्तले शव बुझ्न नमानेपछि स्थानीय प्रशासनले छानविन समिति गठन गरेको थियो । छानबिन समितिले काम सुरु गरेपछि उनका आफन्तले पोष्टमार्टम गरी शव बुझेका थिए ।

क्षमताभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा चौकिदारले विभिन्न बाहानामा कैदीबन्दीलाई यातना दिएको गुनासो आइरहन्छन् । महिला पुरुष गरी ३०० जना क्षमता रहेकोम मोरङ कारागारमा पुरुष ९४८, महिला ८९ र नाबालक ७ जना गरी जम्मा १ हजार ४४ जना कैदीबन्दी छन् ।