काठमाडौँ । भनिन्छ, श्रीमान र श्रीमती एक रथका दुइ पाग्रा हुन् । श्रमानलाई पर्दा श्रीमती ढाल बन्नुपर्छ र श्रीमतीलाई पर्दा श्रीमान ढाल बनेर साथ सहयोग गर्नुपर्छ । जीवनभरी साथ दिन्छु भन्दै एकअर्काको हात थामेको सम्बन्ध जीवनभरीनै हुनुपर्छ । तर यसको ठ्क्कै उल्टो घटना सिन्धुलीमा भएको छ । सिन्धुलीमा आफ्नै श्रीमतीलाई पोलमा बाँधेर एक पुरुषले निर्घात कुटपिट गरेका छन् ।
उनले आफुले मात्र श्रीमतीलाई कुटपिट गरेनन। उनले त अन्य व्यक्तीलाई समेत बोलाएर श्रीमतीमाथी निर्घात कुटपिट गरे । उनले स्थानीय स्तरका केही राजनीतिक पहुँच भएका व्यक्तीहरुलाई बोलाएर कुटपिट गराएका थिए । श्रीमानको नाममा एक नरपिसाचले आफ्नै श्रीमतीमाथी यसरी अमानविय व्यवहार गरेको थाहा पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
जिल्लाको कमलामाई नगरपालिका–४, मा लेनदेनको विषयलाई लिएर ती महिलामाथी श्रीमान सहित अन्य व्यक्तीले पोलमा बाँधेर निर्घात कुटपिट गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो ।
प्रहरीले थापालाई पोलमा बाँधेरै राखेको अवस्थामा उद्धार गरेको हो । अहिले उनलाई कुटपिट गर्ने श्रीमानसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पिटाइ खाएकी थापाको शरिरभरी निलडामहरु छन् । उद्धार गरेर ल्याउँदा उनी बेहोस अवस्थामै रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् ।
त्यसपछि श्रीमान् सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरुले उनलाई बाँधेर कुटपिट गरेको पाइएको एसपी सिलवालको भनाइ छ । केही दिनअघि पनि शारदाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै प्रहरी कहाँ जानकारी गराएकी थिइन् । आफूलाई सिस्नु पानीले हान्ने गरेको समेत उनले प्रहरीलाई बताएकी थिइन् ।
प्रहरीमा उजुरी गरेपछि उनको मोबाइल समेत अफ भएको थियो । त्यसकारण प्रहरीलाई उजुरी गलत रहेछ भन्ने लागेको थियो । तर पछि उनलाई प्रहरीले घटना स्थलबाटै उद्धार गरेको हो ।
सिन्धुलीका एक प्रहरी अधिकृतका अनुसार, उनले अदालतमा गएर न्यायाधीश र अरुसँग भेटेर आफ्नो कुरा राख्ने बताएकी थिइन् । त्यसपछि श्रीमान् सन्तोष समेतले अदालत परिसरबाटै आफूलाई अपहरण गरेर लगेको उनको भनाइ थियो ।
प्रहरीका अनुसार, यो घटनामा पक्राउ परेकामध्ये कोही स्थानीय स्तरमा राजनीतिमा संलग्न व्यक्तिसमेत छन् । यद्यपि, हालसम्म प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । थप केही व्यक्ति छानबिनको दायरामा रहेको बताउँदै प्रहरीले उनीहरुको विवरण खुलाएको छैन ।