Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

यूएईबाट फर्किँदा विमानको शौचालयमा शिशु जन्माएकी महिलाको बयान भन्छिन्, बच्चा जन्माउन नेपाल आएकी थिएँ

यूएईबाट फर्किँदा विमानको शौचालयमा शिशु जन्माएकी महिलाको बयान भन्छिन्, बच्चा जन्माउन नेपाल आएकी थिएँ

एयर अरेबिया विमानको शौचालयमा शिशु जन्माएर हिँडेकी महिलाले आफू नेपाली केटासँग प्रेममा भएको बताएकी छन् ।

सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत ती महिलाले प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा यूएईमा रहँदा नेपाली केटासँग प्रेम सम्बन्धमा रहेको र बच्चा जन्माउन नै नेपाल आएको बताएकी हुन् ।

‘म बच्चा जन्माउन नै नेपाल आएकी हुँ’, काठमाडौं प्रहरीका एक अधिकारीले ती महिलालाई उद्धृत गर्दै भने ।

यूएईबाट त्रिभुवन विमानस्थलमा अवतरण भएको एयर अरेबियाको विमानको शौचालयभित्र पुस ४ गते नवजात शिशु मृत फेला परेको थियो । सरसफाइ गर्ने क्रममा विमानका कर्मचारीले नवजात शिशु फेला पारेका थिए ।

त्यसपछि विमानबाट ओर्लिएर अध्यागमनतर्फ जाँदै गरेकी नवलपरासीको बर्दघाटकी ३० वर्षीय ती महिला पक्राउ परेकी थिइन् । शारीरिक अवस्था कमजोर देखेपछि प्रहरीले उनलाई तत्कालै केएमसी पुर्‍याएर आईसीयूमा भर्ना गरेको थियो ।

महिलाले करिब ९ महिनामा विमानभित्रै शिशु जन्मिएको प्रहरीलाई बताएकी छन् । ‘शौचालयमा गएपछि म बेहोस भएँ । पछि के के भयो, थाहै पाइनँ । प्रहरीले समातेपछि झसङ्ग भएँ’, हाल उपचारकै क्रममा रहेकी ती महिलाको भनाइ उद्धृत गर्दै ती प्रहरी अधिकारीले भने ।

महिलाले प्रेमी सम्पर्कमै रहेको बताएकी छन् । साढे तीन वर्षअघि वैदेशिक रोजगारीमा गएकी ती महिलाले आफू यूएईमा होटलको कर्मचारी भएको बताएकी छन् । प्रहरीका अनुसार उनी होटलमा हाउस किपिङलगायतको काम गर्थिन् ।

प्रहरीले ती महिलाका आफन्तलाई पनि सम्पर्कमा ल्याएको छ । अस्पतालबाट डिस्चार्ज भएपछि आवश्यक अनुसन्धान अगाडि बढाउने तयारी महानगरीय प्रहरी वृत्त गौशालाको छ ।