Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

दुबै खुट्टामा गोली हानी समातीयो स्वर्णकार हत्याका मुख्य सुटर,

दुबै खुट्टामा गोली हानी समातीयो स्वर्णकार हत्याका मुख्य सुटर,

काठमाडौँ । बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका प्रिन्सीपल रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटरलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । गत कार्तिक १३ गते प्रिन्सिपल स्वर्णाकारको गोली हानेर हत्या भएको थियो । सोही हत्याका मुख्य सुटर ३२ वर्षीय सुजित सिंहलाई दुवै खुट्टामा गोली हानी पक्राउ गरिएको हो ।

सिँहलाई बाराको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका सिंह भारतको बिहार मोतीहारी जिल्लाको छोडादारका बासिन्दा हुन् । दुबै खुट्टामा गोली लागेर घाइते भएका सिंहको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ ।

गत कार्तिक १३ गते प्रिन्सिपल स्वर्णाकारको गोली हानेर सिँहसहित अन्य समुहले हत्या गरेका थिए । घटनाको तीन दिन पश्चात प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । हाल पक्राउ गरिएका सिंह भने फरार थिए ।

डिएसपी न्यौपानेका अनुसार सिंहसहित ४ जनाको समूह नेपाल आएको सूचनाका आधारमा प्रहरीले पछ्याएको थियो । प्रहरीले देखेर भाग्न थालेपछि सिंहलाई खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिइएको डिएसपी न्यौपानेले बताएका छन् । दुवै खुट्टामा गोली लागेका उनी घाइते भएका छन् ।

प्रिन्सिपल स्वर्णाकारको हत्यामा आठ जनाको संलग्नता रहेको प्रहरीले बताएको छ । उनको हत्या आरोपमा यसअघि बाराको कलैया उपमहानगरपालिका–२ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह प्रहरी हिरासतमा छन् ।

स्वर्णकारको हत्यामा सोही विद्यालयकी पूर्व शिक्षिका राधा गुप्ता नाम गरेकी युवती मुख्य योजनाकार रहेको प्रहरीले निष्कर्ष निकाली सकेको छ । प्रहरीले हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्ध र रिसिइबी रहेको पाइएको जनाएको छ ।

मुख्य योजनाकारको रुपमा देखिएकी गुप्ता प्रिन्सिपलसँग प्रेम सम्बन्धमा थिइन् । सँगै गुप्ताले भारतीय नागरिक मनोज गुप्तासँग पनि सम्बन्ध राखेको देखिएको प्रहरीको भनाई छ । गुप्ताले सम्बन्ध गाँसेका दुवै व्यक्ति विवाहित भएको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धको विषयलाई लिएर रुपेश, मनोज र राधाका बीचमा बेला–बेलामा विवाद भइरहेको पनि पाइएको प्रहरीले जनाएको छ । हत्यासम्मको कारण दोहोरो सम्बन्ध पनि देखिएको प्रहरीको भनाई छ ।

स्वर्णकारको हत्या हुनुमा यस्तै विविध कारण देखिएको छ । विवाहित समेत रहेका स्वर्णकार पनि राधाको प्रेम सम्वन्धमा थिए । अन्तत त्यही सम्बन्धले उनलाई मृत्युको मुखमा पुर्याको हो । टाउको र छातीमा गोली लागेर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो । हाल स्वर्णकारका हत्यामा संलग्न सवैजना प्रहारी हिरासदमा छन् ।