Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

घुस लिएको आरोपमा सहकारी पुर्व रजिष्ट्रार कार्यकक्षबाटै पक्राउ

घुस लिएको आरोपमा सहकारी पुर्व रजिष्ट्रार कार्यकक्षबाटै पक्राउ

काठमाडौँ । एक करोड भन्दा बढी घुस लिएको आरोपमा सहकारी पुर्व रजिष्ट्रार कार्यकक्षबाटै पक्राउ परेपछि यतीबेला यो विषयको निकै चर्चा चुलिएको छ । करिव १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ हुन् ।

पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न सो रकम घुस लिएको उनीमाथी आरोप लागको छ । केही दिन अघि पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका थिए । अहिले भने उनलाई कार्यलयको कक्षबाटै प्रहरीले पक्राउ गरेको हो ।

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।

पूर्व रजिस्ट्रार पराजुली अहिले पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि हुन् । उनलाई कार्यकक्षबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिएका छन् । ‘जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी पठाएपछि कार्यकक्षबाटै पक्राउ गरिएको पौडेलले बताएका हुन् ।

गत कात्तिक ४ गते पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।

सर्वसाधारणले पनि मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले रजिष्ट्रार पराजुलीलाई घुस खुवाएको बयान दिएका थिए।

स्याङ्जामा सहकारीको सेवा केन्द्र बिस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार पराजुलीलाई १ करोड १५ लाख रूपैयाँ घुस दिएको बताएका थिए।

पौडेल र अधिकारीलाई सर्वसाधारणले बचत गरेको २६ करोड रूपैयाँ अपचलन आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

स्याङ्जाको आँधिखोला गाउँपालिका नै घर रहेका अध्यक्ष पौडेलले आफ्नै पालिकामा समेत कार्यक्षेत्र विस्तार गरेर सहकारीमा रकम भित्र्याउन चाहेका थिए ।

तर, पराजुलीले फाइल अड्काइदिएपछि १ करोड २५ लाख रुपैयाँ घुस दिएर मिलाइएको खुल्न आएको हो ।

मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

अब तत्कालीन रजिस्ट्रार पराजुली र राष्ट्रिय सहकारी बैंक लिमिटेडका घिमिरेसहित ३२ जना पुगेका छन् । त्यसमध्ये अध्यक्ष पौडेल र प्रबन्धक अधिकारी बैंकिङ कसुरमा प्रक्राउ परेका थिए ।

पछिल्लो समय यस्ता घुस लेनदेन र सहकारीको पैसा हिनामिना हुने जस्ता घटना बढ्दो क्रममा छन् । हालसालै पनि ग्यालेक्सी फोर के का सञ्चालक तथा सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीवी राइलाई सूर्यदर्शन बचत तथा ऋण सहकारीको करिब डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप छ । अहिले सामाजिक सञ्जालभरी यो विषयको पनि निकै नै चर्चा चुलिएको छ ।