Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना नियन्त्रणमा

विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना नियन्त्रणमा

काठमाडौँ । विराटनगरका दुई ठूला क्यासिनोमा नेपाली नागरिकले जुवा खेलिरहेको सूचनापछि मोरङ प्रहरीले आइतबार राति छापा मारेको छ। छापाका क्रममा क्यासिनो सञ्चालक र व्यवस्थापकसहित २० जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले राति करिब ११ बजे एकैसाथ दुई स्थानमा कारबाही गरेको थियो। रत्ना होटलस्थित गोल्डेन कोइन क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना पक्राउ परेका छन् भने बिग होटलको च्याम्पियन जोन क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जना नियन्त्रणमा लिइएका छन्।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पक्राउ परेकामध्ये केहीले आफू कर्मचारी भएको दाबी गरेका छन्। उनीहरूको परिचयपत्र र भूमिकाबारे अनुसन्धान भइरहेको र छानबिनपछि मात्रै कसविरुद्ध मुद्दा चलाउने निर्णय हुने उनले बताए।

नेपालको कानूनअनुसार क्यासिनोमा विदेशी नागरिकलाई मात्र प्रवेश अनुमति छ, जसका लागि वैध विदेशी परिचयपत्र अनिवार्य हुन्छ। यसअघि पनि नेपालीलाई क्यासिनो प्रवेश गराएको विषयमा उजुरी परेका थिए।