Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

चुनावी अभियानकै बीच बालेन शाहको घरमा चोरी

चुनावी अभियानकै बीच बालेन शाहको घरमा चोरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको काठमाडौंको घरमा चोरी भएको छ। बालेन शाह र उनकी पत्नी दुवै जना घरमा नभएको बेला चोरहरूले घरमा प्रवेश गरी सिसीटिभी क्यामेरा तथा अन्य सामग्री चोरी गरेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २–३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डीभीआर मेसिन तथा बाथरुम र भान्सामा प्रयोग हुने धाराका टुटीसमेत चोरी गरेर लगेका छन्। अन्य सामान पनि चोरी भएको–नभएकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार साँझ घरमा चोरी भएको जानकारी बालेनका आफन्तले पाएका थिए। बालेन र उनकी पत्नी घरदैलो अभियानका क्रममा राजधानी बाहिर रहेका बेला उनका मामा ससुराका छोरा घरको रेखदेख गरिरहेका थिए। शुक्रबार साँझ उनी घर पुग्दा मूल ढोका फोडिएको र घरभित्रका सामान तितरबितर अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो।

घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त तथा जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेका थिए। सिसीटिभी फुटेज र अन्य प्राविधिक पक्षको अध्ययन गर्दा यो घटना ‘प्रोफेसनल’ चोरहरूको समूहले गरेको हुन सक्ने प्रहरीको भनाइ छ। घटना गत १४ गतेदेखि हिजो साँझको बीचमा भएको हुन सक्ने अनुमान गरिएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र शंकास्पद व्यक्तिहरूको खोजी कार्य तीव्र बनाइएको जनाएको छ।

बालेन शाह हाल देशभर घरदैलो अभियानमा सक्रिय छन्। झापा–५ बाट उम्मेदवारी दर्ता गराएपछि उनी जनकपुर, इलाम, पाँचथर हुँदै हाल सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेका छन्। आफ्नो श्रीमानलाई साथ दिन उनकी पत्नी सबिना काफ्ले पनि झापामा चुनावी प्रचारमा सक्रिय रहेकी छन्।

यही कारण घरमा कोही नभएको मौका पारेर चोरी भएको प्रारम्भिक निष्कर्ष प्रहरीको छ। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर बालेन शाहले झापा–५ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेका हुन्। उनले यो निर्वाचनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्।