Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बालेन शाहसँग चुनावी अभियानमा सहभागी दिनेश सिटौलाको अवस्था अझै गम्भीर

बालेन शाहसँग चुनावी अभियानमा सहभागी दिनेश सिटौलाको अवस्था अझै गम्भीर

काठमाडौँ । बालेन शाहसँग चुनावी अभियानमा हिँडिरहेका बेला बेहोस भएर ढलेका दिनेश सिटौलाको अवस्था हालसम्म पनि गम्भीर नै रहेको अस्पताल स्रोतले जनाएको छ। अस्पतालका अनुसार सिटौलालाई सब–अरैक्नोइड हेमरेज भएको छ, जुन ब्रेन हेमरेजको अत्यन्त गम्भीर प्रकार मानिन्छ।

अस्पताल आइपुग्दा उनको चेतनास्तर अत्यन्त न्यून रहेको र अवस्था क्रिटिकल रहेको चिकित्सकहरूले बताएका छन्। अस्पताल ल्याइनुअघि करिब ४५ मिनेटसम्म उनको मुटुको चाल बन्द भएको र त्यसपछि सीपीआरमार्फत मुटुको चाल फर्काइएको थियो। लामो समयसम्म मुटुको चाल बन्द रहेकाले उपचारको नतिजा जटिल हुन सक्ने चिकित्सकहरूको भनाइ छ।

चिकित्सकका अनुसार अबको ४८ देखि ७२ घण्टा सिटौलाको उपचारका लागि अत्यन्त महत्वपूर्ण समय हो। उक्त अवधिमा चेतनास्तरमा सुधार आएमा थप उपचारको बाटो तय हुने बताइएको छ। तर यति गम्भीर अवस्थामा छिट्टै सुधार आउने सम्भावना न्यून रहेको चिकित्सकहरूले जनाएका छन्।

सब–अरैक्नोइड हेमरेज प्रायः मस्तिष्कको नसामा रहेको एन्युरिज्म फुट्दा हुने गर्दछ। यस्तो एन्युरिज्म धेरैजसो व्यक्तिमा पहिलेदेखि नै हुने भए पनि कुनै लक्षण नदेखिने भएकाले समयमै पहिचान गर्न कठिन हुने चिकित्सकहरू बताउँछन्। अचानक रक्तचाप बढ्नु, अत्यधिक तनाव वा अन्य कारणले एन्युरिज्म फुट्न सक्ने बताइएको छ। हाल सिटौलाको शरीरमा केही न्यून प्रतिक्रिया (रिफ्लेक्स) देखिएकाले चिकित्सक टोलीले उपचार जारी राख्दै अवस्था मूल्यांकन गरिरहेको छ।

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष रहेका दिनेश सिटौला हाल ब्रेन हेमरेजका कारण ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचाररत छन्। उनी अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए। बेहोस भई लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। त्यसपछि सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो।

हिजो बालेन शाह चुनावी कार्यक्रम स्थगित गरेर सिटौलालाई भेट्न काठमाडौँ फर्किएका थिए। तर सिटौलाको अवस्था गम्भीर रहेकाले अस्पतालले भेट्न अनुमति दिएको थिएन। हाल उनका परिवारजन, सहकर्मी तथा शुभेच्छुकहरू सिटौलाको जीवनरक्षाका लागि प्रार्थनामा जुटिरहेका छन्।

यसैबीच, पछिल्लो समय सिटौलाको अवस्थाबारे केही भ्रामक समाचारहरू पनि सार्वजनिक भएका छन्। उनको निधन भइसकेको भन्ने समाचारसमेत फैलिएको छ, तर ती सबै खबर झुठा भएको अस्पताल स्रोतले स्पष्ट पारेको छ। उनी हाल पनि अस्पतालमा उपचाररत छन् र चिकित्सकहरू उनको जीवन बचाउन हरसम्भव प्रयास गरिरहेका छन्। यसकारण, भ्रामक र आधारहीन अड्कलबाजीका आधारमा समाचार नलेख्न सिटौलाका परिवार र सहकर्मीहरूले आग्रह गरेका छन्।