काठमाडौँ । नेपालका विभिन्न जिल्लामा शनिबार प्रहरीले गरेको छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै १३ जनालाई पक्राउ गरेको छ। घटनाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुनसरी, चितवन, सप्तरी, बर्दिया, कञ्चनपुर, कैलाली र पर्सा जिल्लामा भएका हुन्।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट करिब ४ किलो ३०० ग्राम गाँजा जस्तो देखिने पदार्थसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २९ वर्षीय मुहम्मद राहुफ अरयानथोप र २५ वर्षीया आयशा दिलशा रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो र विमानस्थल सुरक्षा कार्यालयको संयुक्त टोलीले बैंककबाट आएको उडानमार्फत आएका उनीहरूको जाँच गर्दा पदार्थ फेला पारेको हो।
यसैगरी सुनसरीको इटहरी तरहराबाट ब्राउनसुगर जस्तो पदार्थ करिब १ ग्राम २३० मिलिग्रामसहित झापाका ३० वर्षीय भिमबहादुर तामाङ पक्राउ परेका छन्। चितवनको भरतपुरस्थित कमलनगर सब्जीमण्डीबाट ४० ग्रामभन्दा बढी खैरो हेरोइनसहित आरोही परियार र विशाल भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सप्तरीको तिरहुत गाउँपालिका–२ बडहराबाट करिब १०५ किलो ५०० ग्राम गाँजा जस्तो पदार्थसहित जामुन महतो र कविता कुमारी माझी पक्राउ परेका छन्। अटो जाँचका क्रममा चार वटा बोरामा लुकाएर राखिएको उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
यस्तै बर्दिया, कञ्चनपुर र कैलालीमा पनि छुट्टाछुट्टै कारबाहीमा ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरिएको छ। कैलालीमा एक जनाको पसलबाट समेत लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
उता पर्साको वीरगञ्जस्थित गण्डक चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ हजार ३०० ट्याब्लेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं जाँदै गरेको सवारी जाँचका क्रममा उक्त ट्याब्लेट बरामद गरिएको हो।
पक्राउ परेका सबै व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।