काठमाडौँ । धनुषा प्रहरीले ढल्केबरस्थित फार्मेसी संचालकलाई ठूलो मात्रामा लागूऔषधसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार पक्राउ पर्नेमा मिथिला नगरपालिका–७ का ५० वर्षीय रामकुमार महतो रहेका छन्।
महतोको निको फार्मेसीबाट टापेन्टा ट्याब्लेट ४६० पत्ता, स्पासरेस्ट ९५ पत्ता, डोवेल ६० पत्ता र नगद १ लाख ३५ हजार रुपैयाँ बरामद गरिएको छ।
यसअघि, मिथिला नगरपालिका–१० रातुपुलबाट बर्दिवासतर्फ पैदल जाँदै गरेका तीन जना युवक—साजन परियार (२०), दोर्जे लामा (२१) र दीपेश साह (२०)—को साथबाट पनि टापेन्टा लागूऔषध फेला परेको थियो।
थप अनुसन्धान गर्दा लागूऔषध कारोबारमा निको फार्मेसीको संलग्नता खुलेको हुनाले प्रहरीले महतोमाथि छापा हानी पक्राउ गरेको जनाएको छ। धनुषा प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको प्रेस विज्ञप्तिमा जनाएको छ।